काठमाण्डौ । ताली एजुकेसन एण्ड रिसर्चले आयोजना गरेको प्रारम्भिक सिकाइ तथा विकास मापदण्डमा आधारित ६ दिने तालिम हिजो सम्पन्न भएको छ । काठमाण्डौ मोडेल कलेज, बागबजारमा आयोजना गरिएको उक्त तालिममा विभिन्न प्रि-स्कुलका सहभागीहरुले सहभागिता जनाएका थिए ।
तालिमको संयोजन ताली एजुकेसनका अध्यक्ष अनन्त घिमिरेले गर्नुभएको थियो । तालिममा अनुभवी प्रशिक्षकहरु अनिता काफ्ले, रती शर्मा र रुकमणी तिमल्सिनाले प्रशिक्षण प्रदान गर्नुभएको थियो ।
तालिमको शुरुवातमा प्रारम्भिक बालविकासविद् डा. मीनाक्षी दाहालले मूल्याङ्कनको दार्शनिक पाटोसहित यसका व्यवहारिक पक्षहरुका बारेमा प्रकाश पार्नुभएको थियो । उहाँले मूल्याङ्कन प्रक्रिया केवल परीक्षणमा सीमित नरही बालबालिकाको समग्र विकासलाई नियमित रुपमा नियाल्ने र त्यसैअनुसार सिकाइ प्रक्रियालाई परिमार्जन गर्ने माध्यम हुनुपर्ने कुरामा जोड दिनुभएको थियो ।
छ दिने अवधिभर सञ्चालन गरिएको यस तालिममा बालबालिकाको विकासात्मक पक्ष, प्रारम्भिक बालविकासका विभिन्न आयामहरु लगायतका विषयमा गहन सेसनहरु सञ्चालन गरिएका थिए । यसका साथै सहभागीहरुलाई कक्षाकोठामा प्रत्यक्ष उपयोग गर्न सकिने गरी विभिन्न थिमअनुसारका सिकाइ सामग्री निर्माण कार्यशाला पनि सञ्चालन गरिएको थियो, जसले प्रि-स्कुल शिक्षकहरुलाई व्यावहारिक सीप हासिल गर्न सघाएको सहभागीहरुले बताएका छन् ।
तालिममा सहभागी प्रि-स्कुल शिक्षकहरुले तालिम एकदमै उपयोगी र प्रभावकारी भएको प्रतिक्रिया दिएका छन् । सैद्धान्तिक ज्ञानका साथै व्यावहारिक अभ्यासहरु समेटिएकाले तालिमले आफ्नो दैनिक शिक्षण कार्यमा प्रत्यक्ष सहयोग पुर्याउने सहभागीहरुको भनाइ छ ।
कार्यक्रमको समापन सत्रमा काठमाण्डौ मोडेल कलेजका तर्फबाट शैलजा कसजुले ताली एजुकेसन र केएमसीबीचको सहकार्य निरन्तर रहिरहने बताउनुभयो । उहाँले सबै सहभागीहरुलाई नयाँ सिकाइ र आगामी दिनका लागि सफलताको शुभकामना समेत दिनुभयो ।
-कबिता भट्टराई
ecdnepal.com






