Home / समाचार / न्यूरो विकाससम्बन्धी नीतिगत छलफल तथा अन्तरक्रिया

न्यूरो विकाससम्बन्धी नीतिगत छलफल तथा अन्तरक्रिया

काठमाडौं — न्यूरो विकाससम्बन्धी अवस्था तथा बाल मानसिक स्वास्थ्य सेवाको वर्तमान अवस्थाबारे शिक्षा तथा खेलकुद मन्त्रालयमा विभिन्न सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

प्रारम्भिक पहिचान तथा निदान, थेरापी एवं पुनर्स्थापना सेवा, समावेशी शिक्षा, दक्ष जनशक्ति, पूर्वाधार र देशभर सेवाको पहुँच विस्तारजस्ता विषयमा केन्द्रित रहेको यस कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल, सांसद सरिता महतो र शिक्षा तथा खेलकुद मन्त्रीका सल्लाहकार शैलेन्द्र झाको उपस्थिति रहेको थियो।

बालबालिका र तिनका परिवारका लागि पहुँचयोग्य, समावेशी र दिगो सेवा प्रणाली सुदृढ गर्दै आवश्यक नीति, कार्यक्रम तथा कार्यदिशा तय गर्ने उद्देश्यले यो छलफल आयोजना गरिएको हो।

कार्यक्रममा बालबालिकाको विकासात्मक अवस्थाबारे प्रारम्भिक बालविकासको चरणदेखि नै परीक्षण गर्नुपर्ने आवश्यकतामा जोड दिइएको थियो। साथै प्रारम्भिक बालविकास शिक्षक, महिला स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा सरकारी संयन्त्रबीचको समन्वय र सहकार्य, पाठ्यक्रममा यस्ता विषय समावेश गर्ने विषय र समावेशी शिक्षाको अवधारणाअनुसारको विद्यमान अवस्थामाथि पनि छलफल भएको थियो।

यस अन्तरक्रिया कार्यक्रममा  मन्त्रालयमातहतका निकायका प्रतिनिधिहरु, शिक्षक, विज्ञ, विश्वविद्यालयका प्राध्यापक, डाक्टर, सञ्चारकर्मी लगायत सिप विकास तथा क्षमता अभिवृद्धिमा कार्यरत विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। साथै अटिजम, डाउनसिन्ड्रोम लगायत अन्य अपांगता भएका बालबालिकाका अभिभावक तथा व्यक्तिहरूको पनि कार्यक्रममा उपस्थित रहेका थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *