काठमाडौँ। राष्ट्रिय बाल सहभागिता दिवस २०८३ को अवसरमा एसोसिएसन अन राइट्स टु प्ले (Association on Rights to Play – ARP) नेपालले देशैभरका बालबालिका, अभिभावक तथा बाल अधिकारकर्मीहरूमा शुभकामना व्यक्त गरेको छ।
दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै एआरपी नेपालका अध्यक्ष मोहन दंगालले बालबालिकाको सर्वाङ्गीण विकास र उनीहरूको सहभागिता सुनिश्चित गर्न खेलकुद तथा खेल सामग्रीको पहुँच महत्त्वपूर्ण रहेको बताउनुभयो। उहाँले खेलले बालबालिकालाई सशक्त बनाउनुका साथै उनीहरूको सक्रिय सहभागितालाई सुनिश्चित गर्नेमा जोड दिनुभयो।
अध्यक्ष दंगालले भन्नुभयो, “खेल केवल मनोरञ्जनको साधन मात्र नभई बालबालिकाको मौलिक अधिकार पनि हो। यसलाई बाल अधिकारका रूपमा सबै पक्ष (परिवार, समाज र राज्य) ले बुझ्न र सोही अनुसारको अनुकूल वातावरण सिर्जना गर्न अपरिहार्य छ।”
राष्ट्रिय बाल सहभागिता दिवसका अवसरमा संस्थाले “हाम्रो सहभागिता, हाम्रो अधिकार, हाम्रो भविष्य!”, “हामी बोल्छौँ, हामी सुन्नुपर्छ”, र “हरेक बालबालिकाको सहभागिता, समावेशी र समान समाजको आधार” जस्ता मूल नाराहरूलाई अघि सार्दै अभिव्यक्ति, शिक्षा, समावेशिता, अधिकार र समानताका लागि जोड दिएको छ।
बालबालिकाको आवाज र पहिचानलाई उच्च प्राथमिकता दिँदै सबै प्रकारका बालबालिका (समावेशी रूपमा) को अधिकार र सहभागिता सुनिश्चित गर्न सरोकारवाला सबैलाई एकताबद्ध भएर लाग्न संस्थाले आह्वान गरेको छ।






