शिक्षा सुधारको बीउ: प्रारम्भिक बाल शिक्षामै खोज्नुपर्छ
संस्कृतको उक्ति “यथा बीजं तथा फलम्” आज नेपालको सार्वजनिक शिक्षाको यथार्थ बुझ्न अत्यन्त सान्दर्भिक छ । बीउ राम्रो भए फल पनि राम्रो हुन्छ। शिक्षा क्षेत्रमा पनि यही सिद्धान्त लागू हुन्छ । तर विडम्बना के छ भने, नेपालमा शिक्षा सुधारको बहस अझै पनि माध्यमिक तहको नतिजा, शिक्षक व्यवस्थापन, पाठ्यक्रम परिवर्तन वा विश्वविद्यालय सुधारमै सीमित छ । शिक्षाको वास्तविक जग भनेको प्रारम्भिक बाल शिक्षा हो भन्ने तथ्य अझै सार्वजनिक बहसको केन्द्रमा आउन सकेको छैन ।
सार्वजनिक शिक्षाका धेरै समस्या कक्षा आठ वा माध्यमिक शिक्षा परीक्षा (SEE) मा देखिन्छन्, तर तिनको सुरुवात भने धेरै पहिले, बालबालिकाको पहिलो विद्यालय अनुभवबाटै हुन्छ। यही कारणले शिक्षा सुधारको बहस अब विद्यालयको माथिल्लो तहबाट होइन, प्रारम्भिक बाल शिक्षाबाट सुरु हुनुपर्छ ।
नेपालका शिक्षासम्बन्धी विभिन्न ऐन तथा नीतिनियमले चार वर्ष (४८ देखि ६० महिना) उमेरका बालबालिकालाई विद्यालय प्रवेश तयारीका लागि प्रारम्भिक बाल शिक्षा कार्यक्रमलाई आवश्यक मानेको छ । प्रारम्भिक बालविकास र शिक्षाको पाठ्यक्रमले बालबालिकाको सर्वाङ्गीण विकास (शारीरिक, सामाजिक, संवेगात्मक र बौद्धिक विकास) तथा बालबालिकाको सिकाइका लागि आधारशिला निर्माण गर्ने लक्ष्य निर्धारण गरेको छ। तर नीति र व्यवहारिक कार्यान्वयनमा ठूलो अन्तर छ ।
मुख्य चुनौती कहाँ छन्?
देशभरको स्थलगत अनुभवले एउटा गम्भीर यथार्थ देखाउँछ, विद्यालय भर्ना उमेरबारे अझै स्पष्टता छैन । कतै तीन वर्ष नपुग्दै बालबालिकालाई विद्यालय (शिशु/बालविकास कक्षा) भर्ना गरिन्छ, कतै चार वर्षमा, कतै पाँच वर्ष नपुग्दै कक्षा १ मा भर्ना गरिन्छ । कतिपय अवस्थामा कखग नचिनेको कारण १४ वर्ष उमेरका बालबालिकासमेत बालविकास कक्षामा राखिएको देखिन्छ। तथ्याङ्कअनुसार कूल भर्ना दर १०१ प्रतिशत हुँदा, चार वर्षका बालबालिकाको खुद भर्ना दर ७०.२ प्रतिशत मात्र रहेको छ, जसले प्रारम्भिक बाल शिक्षामा धेरै कम तथा बढी उमेरका बालबालिका रहेको देखाउँछ (शिक्षा तथा मानव स्रोत विकास केन्द्र, २०२५) ।
शैक्षिक गुणस्तर परीक्षण केन्द्रको विद्यालय तत्परता अध्ययन (२०२४) अनुसार, सामुदायिक विद्यालयका धेरै जसोमा (८४ प्रतिशत) निर्धारित उमेरभन्दा कम वा बढी उमेरका बालबालिकालाई एउटै कक्षामा राखिने देखिएको छ । यसले एउटै कक्षामा विकासात्मक रूपमा अत्यन्त फरक बालबालिका ल्याउँछ। कोही भाषिक रूपमा तयार हुन्छन्, कोही सामाजिक रूपमा अझै असुरक्षित हुन्छन् । हुन त, विभिन्न उमेर समूहलाई एउटै कक्षाकोठामा राखेर विकासात्मक उपलब्धी हासिल गर्ने विधि नभएको हैन । तर हालको प्रारम्भिक बालविकास तथा शिक्षा पाठ्यक्रम चार वर्ष उमेरका बालबालिकालाई मात्र सोचेर बनाइएको छ भने, बालविकास शिक्षक पनि उमेरगत विविधतालाई व्यवस्थापन गर्न तालिम प्राप्त छैनन् ।
शिक्षा नियमावली अनुसार, चार वर्ष पुरा नभएका बालबालिकालाई शारीरिक, मानसिक तथा बौद्धिक शिक्षा दिनको लागि शिशु विकास केन्द्रको व्यवस्था गर्नुपर्छ भनिएको छ । तथापि साना उमेरका बालबालिकालाई भर्ना गराउँदा समेत सामुदायिक विद्यालयमा बालविकास शिक्षकलाई जिम्मा लगाउने प्रचलन पाइएको छ । चार वर्ष पुरा नभएका बालबालिकाको आफ्नै विकासात्मक तथा स्याहार आवश्यकताहरू हुन्छन्, जसकालागि पर्याप्त बहस र तालिम बिना नै बालविकास शिक्षक र विद्यालयलाई यो जिम्मेवारी दिइएको देखिन्छ ।
हाम्रो ठूलो सामाजिक भ्रम
नेपालमा एउटा ठूलो सामाजिक भ्रमले जरा फैलाउँदै गएको देखिन्छ: जति छिटो विद्यालय पठायो त्यति राम्रो । तर छिटो विद्यालय पठाउनु र छिटो सिकाइ हुनु एउटै कुरा होइन । यो भ्रमलाई निजी विद्यालयको विस्तार र अभिभावकको आवश्यकताले फैलिन सहयोग पुर्याएको छ । निजी विद्यालयहरूले प्लेग्रुप, नर्सरी, एलकेजी, युकेजी जस्ता संरचना विस्तार गर्दै प्रतिस्पर्धात्मक वातावरण बनाएका छन् । अभिभावकहरूलाई पनि छिटो अक्षर चिनाउने, लेखाइ सुरु गराउने र “पढाइमा अघि बढाउने” मनोविज्ञानले आकर्षित गरेको छ ।
अर्को कुरा, कामकाजी अभिभावकलाई आफ्ना बालबालिकालाई सुरक्षित ठाँउमा जिम्मा लगाएर काममा लाग्नुपर्ने बाध्यता पनि छ । बदलिँदो समाजको आवश्यकतालाई नियमन प्रणालीले अझै पूर्ण रूपमा समेट्न सकेको छैन । हालको अवस्था अनुसार नीतिनियम विपरीत कतिपय सामुदायिक विद्यालय तथा स्थानीय सरकार आफैले नै बहुकक्षाको प्रारम्भिक बाल शिक्षा चलाउन थालेको तथ्याङ्कले नै देखाउँछ । यो भ्रमले बालबालिकालाई औपचारिक कक्षाको दबाबमा राख्दै उनीहरूको स्वाभाविक विकास प्रक्रियालाई कमजोर बनाइरहेको छ ।
अब के गर्ने?
प्रारम्भिक बाल शिक्षामा रहेका भ्रम चिर्न र यसका समस्या समाधान गर्न सहज छैन । सर्वप्रथम शिक्षाका समस्या समाधानको सुरुवात प्रारम्भिक बाल शिक्षाबाट नै हुनुपर्छ भनेर प्राथमिकतामा राख्नु नै महत्त्वपूर्ण छ । यसका लागि निम्न बहुआयामिक उपायहरू छलफलकालागि प्रस्तुत गरिएको छ ।
१. संवाद र सहमति निर्माण
संघीय विद्यालय शिक्षा विधेयकमा फेरी छलफल सुरु हुने समय हुँदैछ । यो अवसरलाई सदुपयोग गरेर, अभिभावक, शिक्षक, विभिन्न किसिमका सेवा प्रदायक (निजी तथा सामुदायिक विद्यालय, स्याहार केन्द्र) तथा अन्य सबै सरोकारवालामा प्रारम्भिक बाल स्याहार सेवालाई विद्यालयमा जोड्ने वा नजोड्ने, यसको खर्च कसले बेहोर्ने, विद्यालय भर्ना उमेरजस्ता विषयबारे तथ्यपरक संवाद तथा सहमति हुन अति आवश्यक छ ।
राष्ट्रिय रूपमा वृहत् छलफलपछि बनेको नेपाल सरकारको प्रारम्भिक बालविकास राष्ट्रिय रणनीति २०७७-२०८८ ले प्रारम्भिक बाल स्याहारसम्बन्धी कार्यक्रमको नीतिगत व्यवस्थापनको जिम्मेवारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई बनाएको छ । यो रणनीति यस संवाद तथा सहमतिकालागि प्रस्थानविन्दु हुन सक्छ ।
२. विविधता व्यवस्थापन र नीतिगत एकरूपता
नेपालमा विभिन्न किसिमका विविधता छन् । साना बालबालिकाको स्याहारको आवश्यकता पनि विभिन्न हिसाबले पूरा भइरहेका छन् । कतै घरपरिवारमै त कतै समुदायमै बालबालिकालाई हेरविचार भइरहेको अवस्था पनि छ । तर समाजको परिवर्तन तथा सहरीकरणका कारणले बालबालिकाको स्याहारकालागि समुदाय, विद्यालय वा कार्यस्थलमा आधारित शिशु स्याहार केन्द्रका विविध प्रारुपलाई सोच्ने समय आएको छ ।
शिक्षाको हकमा समान उपलब्धि खोज्ने हो भने, संघ, प्रदेश र स्थानीय तहमा विद्यालयको प्रकृतिका बाबजूद विद्यालयको भर्ना उमेरमा एकैनासको नीति कार्यान्वयन गर्न अपरिहार्य छ । चार वर्ष (४८ महिना) पूरा भएपछि प्रारम्भिक बाल शिक्षा र पाँच वर्ष (६० महिना) पूरा भएपछि कक्षा एकमा भर्ना हुने नीतिलाई सबै सरोकारवालाहरूले बुझ्ने र पालना गर्ने गरी व्यापक जनचेतना अभियान सञ्चालन गरिनुपर्छ । यसका लागि नियमन र आवश्यक सहजीकरण तीनै तहका सरकारले गर्न जरूरी छ ।
३. प्रारम्भिक बालविकास सेवाकर्मीको सम्मान र व्यावसायिकता
पाँच वर्षको उमेरसम्म ९० प्रतिशत मस्तिष्कको विकास हुन्छ । यस उमेर समूहमा बालबालिकासँग काम गर्ने विभिन्न क्षेत्रका सेवाकर्मी दक्ष हुनु अति आवश्यक छ । तथापि हाम्रो समाजमा साना बालबालिकालाई हेर्ने सुसारे (आया, सहयोगी) तथा बालविकास शिक्षकलाई तल्लो तहको व्यवहार गरिन्छ । साना बालबालिकासँग काम गर्ने सेवाकर्मीहरूको तालिम, न्यूनतम योग्यता निर्धारण र उचित पारिश्रमिकको व्यवस्था गरी पेसालाई आकर्षक बनाउनु अति जरुरी छ ।
४. अभिभावक सबलीकरण र सहभागिता
बालबालिकाप्रतिको पहिलो जिम्मेवारी अभिभावकको हो । बालबालिकाको विकासमा घरको भूमिका अपरिहार्य भएकाले अभिभावकहरूलाई प्रारम्भिक उत्प्रेरणा र उत्तरदायी स्याहारसम्बन्धी ज्ञान र सिप अति आवश्यक छ । यी ज्ञान र सिपमा सबलीकरण गर्ने कुरा गर्भधारण भएदेखि स्वास्थ्य संस्थाबाट नै सुरु हुनुपर्छ र क्रमबद्ध रूपमा विद्यालयको जिम्मेवारीमा पर्नु पर्छ । प्रारम्भिक बालविकास अभिभावकसँगको सहकार्य र सहभागितामा हुनुपर्ने कुरा विद्यालयले सम्झनुपर्छ ।
५. बालबालिका केन्द्रित दृष्टिकोण
प्रारम्भिक बाल स्याहार होस् वा प्रारम्भिक बाल शिक्षा कार्यक्रम, यी दुवै बालबालिकाको सर्वाङ्गीण विकासमा केन्द्रित हुनुपर्छ । अभिभावकले बालबालिकाको राम्रो चाहेको त हुन्छन् तर सबै अभिभावकलाई विकासात्मक चरण तथा बालबालिकाको विभिन्न आवश्यकताप्रतिको ज्ञान र क्षमता नहुन सक्छ । त्यसैले राज्यले विभिन्न नीति तथा सेवा मार्फत बालबालिकाको सर्वाङ्गीण विकास पाउने संवैधानिक अधिकारलाई सुनिश्चित गर्नुपर्छ ।
अन्त्यमा, “यथा बीजं तथा फलम्” को सत्यतालाई स्वीकार गर्दै नेपालले प्रारम्भिक बाल शिक्षालाई शिक्षा क्षेत्रको केन्द्रविन्दुमा राख्नु आजको आवश्यकता मात्र होइन, भविष्यको अनिवार्यता हो। यसमा शिक्षा क्षेत्रमात्र नभएर स्वास्थ्य, महिला तथा बालबालिका, संघीय मामिलाजस्ता विभिन्न क्षेत्र तथा सरोकारवालासँगको समन्वय पनि अति आवश्यक छ । विद्यालय भर्ना उमेरको दुविधा हटाउन प्रारम्भिक बाल स्याहार र प्रारम्भिक बाल शिक्षा दुई फरक सेवाका रूपमा हेर्नु पर्छ ।
-डा. दिपु शाक्य । युनिसेफ नेपाल
(यो लेख युनिसेफ नेपालबाट साभार गरिएको हो । )
ecdnepal.com





