
ललितपुर, जेठ १९ – काठमाडौं विश्वविद्यालय स्कूल अफ एजुकेशन (KUSOED) अन्तर्गतको Department of Inclusive Education, Early Childhood Development and Professional Studies (DIEP) द्वारा आयोजित “Early Childhood Development Seminar 2026” आज सम्पन्न भएको छ। “Contemporary Perspective in Early Childhood Development: Inclusion, Pedagogy and Practice” विषयमा केन्द्रित उक्त सेमिनारले प्रारम्भिक बालविकास तथा शिक्षासम्बन्धी समसामयिक बहस, अनुसन्धान र अभ्यासलाई एकै थलोमा ल्याएको थियो।
सेमिनारमा प्रारम्भिक बालविकास क्षेत्रमा अध्ययन तथा अनुसन्धान गरिरहेका शोधकर्ताहरूले आफ्ना अनुसन्धानका निष्कर्ष प्रस्तुत गरेका थिए। प्रस्तुत अनुसन्धानहरूले प्रारम्भिक बालविकासमा समावेशीता, गुणस्तरीय सिकाइ वातावरण, शिक्षण अभ्यास, अभिभावकको भूमिका तथा बालबालिकाको समग्र विकाससँग सम्बन्धित विविध विषयहरूलाई समेटेका थिए।
कार्यक्रममा युनिसेफ नेपालका प्रारम्भिक बालविकास विशेषज्ञ डा. दिपु शाक्य, प्रारम्भिक बालविकास विज्ञ डा. मीनाक्षी दाहाल लगायत प्रारम्भिक बालविकास तथा शिक्षा क्षेत्रमा क्रियाशील शिक्षाविद्, अनुसन्धानकर्ता, शिक्षक, विद्यार्थी तथा विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले प्रारम्भिक बालविकास क्षेत्रमा विद्यमान चुनौती, अवसर तथा नीतिगत सुधारका सम्भावनाबारे विचार आदान–प्रदान गरेका थिए।
सेमिनारमा प्रारम्भिक बालविकासलाई केवल पूर्वप्राथमिक शिक्षाको सीमित अवधारणाभन्दा बाहिर लैजाँदै गर्भाधानदेखि आठ वर्षसम्मको समग्र विकासको दृष्टिकोणबाट हेर्नुपर्ने आवश्यकता औँल्याइएको थियो। साथै, समावेशी, गुणस्तरीय र बालकेन्द्रित प्रारम्भिक बालविकास सेवामा लगानी तथा प्राथमिकता बढाउनुपर्ने विषयमा समेत जोड दिइएको थियो।
आयोजकका अनुसार यस्ता शैक्षिक तथा व्यावसायिक मञ्चहरूले अनुसन्धान, नीति र व्यवहारबीचको सम्बन्धलाई थप सुदृढ गर्दै नेपालको प्रारम्भिक बालविकास क्षेत्रको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
ecdnepal.com



2 Comments
Good coverage
Thank you so much, Kiran sir.