Home / विचार / बालबालिकाका लागि ‘ओपन क्यानभास’ को महत्व

बालबालिकाका लागि ‘ओपन क्यानभास’ को महत्व

नेपालका सहरदेखि गाउँसम्मका विद्यालयहरुमा कक्षाकोठा तथा विद्यालयलाई नै आकर्षक देखाउन भित्ताभरि मिकी माउस, मोटुपात्लु, वर्णमालाका चार्ट, र चम्किला रङहरूको प्रयोग गरिएको पाइन्छ । विद्यालय र अभिभावक दुवैलाई लाग्छ कि जति धेरै झिलिमिली, रंगीचंगी भयो, त्यति नै धेरै सिकाइ हुन्छ। तर, शिक्षाविद् र मनोवैज्ञानिकहरूका अनुसार धेरै त्यस्ता सामग्रीले भरिएका भित्ताहरूले बालबालिकाको ध्यान भड्काउने (Overstimulation) काम मात्र गर्दैनन्, उनीहरूको आफ्नै मौलिक सोचलाई समेत खुम्च्याइदिन्छन्। आजको आवश्यकता अनुसार बालबालिकालाई ‘रेडिमेड संसार’ देखाउनु मात्र होइन, उनीहरूलाई आफ्नै संसार सिर्जना गर्न ‘खुल्ला क्यानभास’ उपलब्ध गराउनु पनि हो।

वास्तवमा खुल्ला क्यानभास भनेको विद्यालय तथा घरका ती भित्ता वा ठाउँहरू हुन्, जहाँ कुनै पनि पूर्व-निर्मित चित्र वा चार्ट हुँदैनन्। यो एक यस्तो खाली ठाउँ हो, जहाँ बालबालिकाले आफ्ना कल्पना, भावना र सिकाइका अनुभवहरूलाई स्वतन्त्र रूपमा उतार्न पाउँछन्। यो खाली भित्ता मात्र होइन, यो बालबालिकाको मस्तिष्कको ऐना पनि हो।

हाम्रो बुझाइमा कक्षाकोठा रंगीचंगी र झिलिमिलि भएको राम्रो ठान्छौं । तर कक्षाकोठालाई आकर्षक बनाउन शैक्षिक सामग्रीको प्रयोग गर्नु राम्रो मानिए तापनि यसको अति प्रयोगले सिकाइमा खति पुऱ्याइरहेको हुन्छ भन्ने कुरामा हामी अनभिज्ञ नै भएको हौं त ? यो मननयोग्य प्रश्न हो जुन प्रश्न हामी आफैंलाई बारम्बार गरौं ।

सामान्यतया, एउटा कक्षाकोठाको भित्ताको २० देखि ५० प्रतिशत भाग मात्र शैक्षिक सामग्रीले ढाकिनु उपयुक्त मानिन्छ। तर नेपालका धेरै विद्यालयहरूमा भित्ताको १०० प्रतिशत भाग नै चित्र, भित्तेलेखन र विभिन्न चार्टहरूले भरिएको पाइन्छ, जसले बालबालिकाको सिकाइ प्रक्रियामा गम्भीर नकारात्मक असरहरू पारिरहेको छ । जब स-साना बालबालिकाको वरिपरि अनगिन्ती रङ र चित्रहरू हुन्छन्, उनीहरूको मस्तिष्कले कुन कुरामा ध्यान दिने भन्ने निर्णय गर्न सक्दैन। यसरी धेरै सूचना एकैपटक मस्तिष्कमा ठोकिँदा ‘कग्निटिभ ओभरलोड’ ( संज्ञानात्मक बोझ) हुन जान्छ। यसले गर्दा बालबालिकाहरू चाँडै थकित हुने र शिक्षकले भनेको कुरामा एकाग्र हुन नसक्ने समस्या देखिन्छ। त्यसैगरी, कक्षाकोठाका भित्तामा पहिले नै ठूला र रङ्गीन चित्रहरू (जस्तै: हात्ती) टाँसिएका छन् भने बालबालिकाको सोच्ने दायरा खुम्चिन्छ। उनीहरूले हात्तीलाई त्यही एउटै स्वरूपमा मात्र देख्छन् र त्यसलाई अर्को कुनै ढङ्गले कल्पना गर्न सक्दैनन्। यसले गर्दा उनीहरूमा सत्य त्यही चित्र मात्र हो र त्यो परिवर्तन हुँदैन भन्ने भ्रम पर्न सक्छ, जसले उनीहरूको सिर्जनशीलता र कल्पनाशीलतालाई रोकिदिन्छ। यसरी एउटै सामग्री लामो समयसम्म भित्तामा रहिरहँदा बालबालिकाका लागि ती केवल ‘भित्ताका सजावट’ जस्ता मात्र बन्न पुग्छन्। बालबालिकाको उमेर र ज्ञान बढ्दै जाँदा पनि पुराना सामग्रीहरू परिवर्तन नगरिँदा उनीहरूले ती सामग्रीलाई वास्ता गर्न छाड्छन्। फलस्वरूप, ती सामग्रीहरू सिकाइको माध्यम नभई केवल कोठा भर्ने वस्तुमा मात्र सीमित हुन पुग्छन्।

 

बालबालिकाको संज्ञानात्मक विकासलाई मध्यनजर गर्दा बालबालिकाको प्रारम्भिक उमेर (०-८ वर्ष) मस्तिष्क विकासको सबैभन्दा महत्त्वपूर्ण समय हो। यस अवस्थामा बालबालिकालाई त्यस्ता खुल्ला क्यानभासले उनिहरुको आत्म-अभिव्यक्ति ,समस्या समाधान गर्ने क्षमता, सूक्ष्म मांसपेशीको विकास, तथा अपनत्वको अनुभूतिमा ठुलो भूमिका खेल्दछ । धेरै बालबालिका आफ्ना भावना शब्दमा व्यक्त गर्न सक्दैनन् तर उनिहरुले भित्ता वा क्यानभासमा आफ्ना मनोभावहरु व्यक्त गरिरहेका हुन्छन् । यसले उनीहरूको भावनात्मक स्वास्थ्य र आत्मविश्वास बढाउँछ। यो अवस्थालाई अभिभावक, शिक्षक तथा स्याहारकर्ताहरुले बुझ्न सक्नु पर्दछ ।  अर्को तर्फ उनिहरुले यदि त्यस्ता खाली भित्ताहरु वा ठाउँ पाउँछन् भने उनिहरुले  “यहाँ म के बनाऊँ? यो रङ यहाँ कसरी प्रयोग गरूँ?” जस्ता प्रश्न सहित समाधान सोच्न थाल्छन् ।  यो प्रक्रियाले उनिहरुको मस्तिष्कमा नयाँ न्युरोन्सहरूको विकास गर्छ र उनिहरुलाई सोच्न बाध्य बनाउँछ। खुल्ला क्यानभासका अन्य फाइदाहरु केलाउने हो भने बालबालिकाहरुले भित्तामा वा ठूलो क्यानभासमा चित्र कोर्दा, रङ भर्दा वा केही सामग्री टाँस्दा उनिहरुको हात र औँलाका सूक्ष्म मांसपेशीहरूको कसरत हुन्छ, जसका कारण पछि गएर आकर्षक हस्तलेखनमा ठूलो मद्दत पुऱ्याउँछ। जब कक्षाकोठाको भित्तामा बालबालिकाले आफ्नै हातले बनाएको चित्र देख्छन्, उनिहरुलाई त्यो विद्यालय र कक्षा आफ्नै हो भन्ने महसुस हुन्छ। यसले सिकाइप्रति उनिहरुको रुचि र लगाव बढाउँछ।

 

 

कसले के गर्ने त ?

कक्षाकोठालाई सिकाईमैत्री र प्रभावकारी बनाउन विद्यालय प्रशासन र शिक्षकहरूले ‘खुल्ला क्यानभास’को अवधारणालाई आत्मसाथ गर्नु अत्यन्त जरुरी देखिन्छ। यसका लागि सबैभन्दा पहिले कक्षाका सबै भित्ताहरूलाई तयारी स्टिकर वा पोस्टरले भर्नुको साटो केही भित्ताहरूलाई जानीजानी खाली छोड्नुपर्छ। बालबालिकाको पहुँच पुग्ने उचाइमा कागज, ह्वाइटबोर्ड वा चकबोर्ड राखिदिँदा उनीहरूले आफ्ना भावना र सिर्जनालाई स्वतन्त्र रूपमा व्यक्त गर्ने अवसर पाउँछन्। त्यसैगरी, शैक्षिक सामग्रीहरूलाई सधैँका लागि भित्तामा टाँसिरहनुको साटो आवश्यकता अनुसार हप्ता वा महिनामा फेरबदल गर्ने ‘चक्रीय प्रणाली’ अपनाउनु पर्छ। यसले पुराना सामग्रीको बोझ हटाएर नयाँ सिर्जनाका लागि ठाउँ मात्र बनाउँदैन, बालबालिकामा नयाँपनको उत्सुकता समेत जगाइराख्छ।

विद्यालयले व्यावसायिक रूपमा छापिएका महँगा पोस्टरभन्दा बालबालिका आफैँले कक्षामा तयार पारेका क्रियाकलाप वा उनीहरूका बाङ्गा-टिङ्गा रेखालाई प्रदर्शनी क्षेत्रमा प्राथमिकताका साथ सजाउनु पर्छ, जसले उनीहरूमा ठूलो आत्मविश्वास र प्रोत्साहन मिल्छ। साथै, खुल्ला क्यानभासको यो सोचलाई कक्षाकोठाको चार पर्खालभित्र मात्र सीमित नराखी बाहिरी आँगनसम्म विस्तार गर्न सकिन्छ। बालबालिकाले प्रकृतिसँग सामीप्य गाँस्दै बालुवा, माटो र ढुङ्गाहरूसँग खेलेर विभिन्न आकृति बनाउनु पनि एउटा उत्कृष्ट खुल्ला क्यानभासको अभ्यास हो।

बालबालिकाको यो सिकाइ यात्रामा अभिभावकको भूमिका पनि उत्तिकै महत्वपूर्ण हुन्छ। धेरै अभिभावकहरू घरको भित्ता फोहोर हुने डरले बालबालिकालाई कोर्नबाट रोक्ने गर्छन्, तर वास्तवमा त्यो कोर्नु भनेको उनीहरूको बुद्धिको विकास भइरहेको सङ्केत हो। त्यसैले घरमा पनि एउटा निश्चित ठाउँ वा ठूलो चार्ट पेपर उपलब्ध गराई उनीहरूलाई स्वतन्त्र रूपमा सिर्जना गर्न दिनु उपयुक्त हुन्छ। जब बालबालिकाले केही बनाउँछन्, तब “यो के हो?” भनेर सोध्नुको साटो उनीहरूले प्रयोग गरेका रङ वा प्रक्रियाको प्रशंसा गर्दै त्यसको बारेमा बताउन प्रोत्साहन गर्नुपर्छ। यसले उनीहरूको भाषिक विकासमा समेत ठूलो टेवा पुऱ्याउँछ। अन्ततः, महँगा र ब्याट्रीबाट चल्ने तयारी खेलौनाको साटो कागज, गम, मुछेको पिठो र माटो जस्ता ‘खुल्ला सामग्री’ उपलब्ध गराउँदा बालबालिकाले आफ्नो कल्पनालाई मूर्त रूप दिने बढी अवसर पाउँछन्।

 

खुल्ला क्यानभास र मन्टेश्वरी विधि

मन्टेश्वरी शिक्षाको मुख्य आधार भनेकै मलाई आफैँ गर्न मद्दत गर” भन्ने हो। यसको अर्थ प्रारम्भिक बाल्य अवस्थामा बालबालिकालाई यस्तो वातावरण दिनु हो जहाँ उनीहरूले कसैको दबाब बिना आफ्नै गतिमा सिक्न सकून्। यसलाई शिक्षाको एक सिद्दान्त ” स्क्याफोल्डिङ ” सँग जोडेर हेर्ने गरिन्छ । शिक्षाको क्षेत्रमा स्क्याफोल्डिङ अवधारणा मुख्यतया रूसी मनोवैज्ञानिक लेभ भिगोत्स्कीको ‘जोन अफ प्रोक्सिमल डेभलेपमेन्ट (ZPD)’ सँग जोडिएको छ। उनका अनुसार बालबालिकाले आफैँले गर्न सक्ने काम र अरूको सहयोगमा गर्न सक्ने काम बीचको खालीठाउँ नै ZPD हो र उक्त ठाँउमा दिइने उपयुक्त सहयोग नै ‘स्क्याफोल्डिङ’ हो ।

भिगोत्स्की जस्तै अर्का दार्शनिक जेरोम ब्रुनरका अनुसार  बालबालिकालाई नयाँ सीप सिकाउँदा शिक्षकले दिने ‘अस्थायी सहयोग’ लाई ‘स्क्याफोल्डिङ’ भनिन्छ । उदाहरणका लागि, जसरी घर बनाउँदा फलाम वा बाँसका बाहिरी टेको लगाइन्छ र घर बनिसकेपछि निकालिन्छ, सिकाइमा पनि बालबालिका सक्षम भएपछि त्यस्ता टेकोरुपी सहयोगहरु हटाउँदै लैजानुपर्छ।

नेपालको सन्दर्भमा हेर्ने हो भने नेपालमा ‘मन्टेश्वरी’ शब्द एउटा ब्रान्ड वा फेसन जस्तो बनेको छ, तर त्यसको मर्म र दर्शन धेरै ठाउँमा हराएको पाइन्छ। धेरैजसो अवस्थामा रङ्गीचङ्गी कोठा र विदेशी महंगा खेलौना हुनुलाई नै मन्टेश्वरी ठानिन्छ, जबकि डा. मारिया मन्टेश्वरीको वास्तविक दर्शन ‘स्वतन्त्रता’ र ‘क्रमिक विकास’ मा आधारित छ। मारिया मन्टेश्वरीको वास्तविक सिद्दान्त अनुसार, यस्ता अनावश्यक सामग्रीहरूले “दृश्य प्रदूषण” पैदा गर्छन्, जसले बालबालिकाको एकाग्रतालाई सहयोग गर्नुको साटो उल्टै भङ्ग गरिदिन्छ। जब एउटा सानो बालकले शिक्षकको कुरा सुन्न वा आफ्नो काममा ध्यान दिन खोज्छ, उसको वरिपरि रहेका अत्यधिक रङ्गीचङ्गी सामग्रीले मस्तिष्कलाई दिग्भ्रमित बनाइदिन्छन्। यस्तो अवस्थामा बालकको दिमागले कुन कुरा महत्वपूर्ण हो र कुन अनावश्यक हो भनेर छुट्याउन नसक्दा ‘कग्निटिभ ओभरलोड’ हुन पुग्छ। विभिन्न अनुसन्धानहरूले पनि के पुष्टि गरेका छन् भने, धेरै भिडभाड र अव्यवस्थित वातावरणमा बस्ने बालबालिकाहरू चाँडै रिसाउने, तनावमा आउने र छटपटाउने हुन्छन्, जसले गर्दा उनीहरूको एकाग्र हुने क्षमता बिस्तारै ह्रास हुँदै जान्छ।

यसको विपरीत, एउटा वास्तविक मन्टेश्वरी कक्षाकोठा सधैँ शान्त, प्राकृतिक र हल्का रङको हुनुपर्छ। त्यहाँ बजारबाट किनिएका महँगा र कृत्रिम पोस्टरहरूभन्दा पनि बालबालिकाको आफ्नै उचाइअनुसार उनीहरूले नै तयार पारेका सिर्जना र कलाकृतिहरूलाई मात्र स्थान दिइन्छ। यस्तो वातावरणले बालबालिकालाई मानसिक शान्ति र सिकाईप्रति रुचि जगाउँछ।

मन्टेश्वरी विधिको अर्को महत्वपूर्ण पाटो ‘स्वतन्त्र छनोट’ हो, जसलाई “खुल्ला क्यानभास” को अवधारणाले मूर्त रूप दिन्छ। उदाहरणका लागि, यदि कक्षाको भित्तामा पहिले नै “A for Apple” सहित स्याउको को ठूलो चित्र टाँसिएको छ भने, बालबालिकाको सोच्ने शक्ति त्यही स्याउमा मात्र सीमित हुन पुग्छ। तर, यदि भित्ता खाली छ र उनीहरूलाई स्वतन्त्र रूपमा रङ र सामग्री दिइएको छ भने, उनीहरूले ‘A’ बाट आफ्नै बुबाको नाम वा आफूले देखेको कुनै नयाँ वस्तु कोर्न सक्छन्। बालबालिकाले यसरी गर्ने ‘स्वत:स्फूर्त गतिविधि’ ले नै उनीहरूको रचनात्मकता र आत्म-सिकाईको प्रक्रियालाई वास्तविक अर्थमा अगाडि बढाउँछ।

 

संज्ञानात्मक विकासमा खुल्ला क्यानभासको भूमिका

बालबालिकाको संज्ञानात्मक विकासमा “खुल्ला क्यानभास” को भूमिकालाई “रेजियो एमिलिया” (Reggio Emilia) दृष्टिकोणले विशेष महत्वका साथ हेर्ने गर्दछ। यस अवधारणा अनुसार विद्यालयको वातावरणलाई ‘तेस्रो शिक्षक’ मानिन्छ, जसको अर्थ भौतिक वातावरण आफैँमा यस्तो हुनुपर्छ जसले शिक्षकको प्रत्यक्ष निर्देशन बिना नै बालबालिकालाई नयाँ कुरा सिक्न प्रेरित गरोस्। जब बालबालिकाले आफ्नो अगाडि एउटा खाली भित्ता देख्छन्, उनीहरूले त्यहाँ आफ्नो कल्पनाको संसार देख्न थाल्छन्। त्यस्ता खाली ठाउँहरूमा उनीहरूले ठूला जहाज, रकेट वा आफूले सोचेका अनगिन्ती दृश्यहरू सिर्जना गर्न सक्छन्, जुन वास्तवमा तार्किक सोच (Abstract Thinking) विकासको पहिलो जग हो। साथै, “मैले यो खाली ठाउँमा के बनाउने होला?” भन्ने सोचले उनीहरूमा स्वयं निर्णय लिन सक्ने क्षमताको विकास गराउँछ। खुल्ला क्यानभासमा कोर्ने र मेटाउने प्रक्रियाले बालबालिकालाई आफ्ना गल्तीहरू आफैँ पहिचान गर्न र सुधार्न सिकाउँछ, जसलाई सिकाईको भाषामा ‘त्रुटी नियन्त्रण’ (Control of Error) भनिन्छ।

यस सन्दर्भमा विद्यालय सञ्चालक र अभिभावकहरूले केही व्यावहारिक कदमहरू चाल्नु आवश्यक देखिन्छ। सबैभन्दा महत्वपूर्ण कुरा, विद्यालयका भित्ताहरूमा ‘५० प्रतिशतको नियम’ लागू गर्नुपर्छ, अर्थात् कम्तीमा आधा भाग भित्ताहरू  सधैँ खाली राख्नुपर्छ। सरकारी मापदण्ड अनुसार पनि २० देखि ५० प्रतिशत सम्म मात्र भित्ते लेखन र कक्षाकोठाको सजावट गर्नु पर्दछ भनिएको छ ।

ति खाली भित्ताहरू बालबालिकाको सिर्जनाका लागि “पर्खिरहेका अवसरहरू” हुन्। यदि केही शैक्षिक सामग्री टाँस्नु नै छ भने, ती सामग्रीहरू बालबालिकाको आँखाको तहमा हुनुपर्छ। छतमा वा बालबालिकाको उचाई भन्दा धेरै माथि टाँसिएका सामग्रीहरूको उनीहरूका लागि कुनै अर्थ रहँदैन।

त्यसका अलावा, अभिभावक र शिक्षकले बालबालिकाले तयार पारेको ‘अन्तिम नतिजा वा रिजल्ट’ कस्तो छ भन्ने कुरालाई भन्दा पनि उनीहरूले त्यो कार्य गर्दा कति रमाए र कति नयाँ कुरा सोचे भन्ने ‘प्रक्रिया’ लाई बढी महत्व दिनुपर्छ। हरेक बालबालिका आफ्नै विशिष्टता र क्षमतासहित ‘विशेष’ हुन्छन् भन्ने तथ्यलाई स्वीकार गर्दै उनीहरूलाई हेर्ने दृष्टिकोण समावेशी बनाउनु पर्छ। बालबालिकाको सिर्जनालाई सम्मान गर्ने र उनीहरूको कल्पनालाई ‘खुल्ला क्यानभास’ दिने वातावरणले नै उनीहरूको वास्तविक व्यक्तित्व विकासमा सहयोग पुऱ्याउँछ।

 

अन्त्यमा, प्रारम्भिक बाल्यकाल भनेको सिक्ने मात्र होइन, ‘खोज्ने क्षमता’ विकास गर्ने उमेर पनि हो। अभिभावक तथा शिक्षकहरुले बालबालकालाई जिज्ञासु बन्ने प्रशस्त अवसरहरु प्रदान गरिनु पर्दछ । विद्यालयहरुले बालबालिकालाई अधिक सूचनाले भर्ने (Feeding) र घोकन्ते विद्या दिनु भन्दा पनि उनीहरूको भित्री क्षमतालाई बाहिर निकाल्ने वातावरण बनाउनुपर्छ। नेपालमा कतिपय विद्यालयहरुमा मन्टेश्वरी शिक्षाको नाममा भइरहेको “व्यावसायिक झिलिमिली” लाई हटाएर “प्राकृतिक र खुल्ला सिकाइ” तर्फ लाग्नु पर्ने देखिन्छ। बालबालिकालाई खुल्ला क्यानभास दिनु भनेको उनीहरूलाई सोच्न सिकाउनु हो। रङले भरिएको कोठा भन्दा, रङ भर्न बाँकी एउटा खुल्ला भित्ताले बालबालिकालाई धेरै कुरा सिकाउँछ । जब हामी एउटा बालबालिकालाई खुल्ला क्यानभास दिन्छौँ, हामी उसलाई केवल एउटा भित्ता दिइरहेका हुँदैनौँ, बरु हामी उसलाई आफ्नो भविष्यको चित्र आफैँ कोर्न सक्ने ‘आत्मविश्वास’ र ‘स्वतन्त्रता’ दिइरहेका हुन्छौँ। त्यसैले, कक्षाकोठालाई बजारको विज्ञापन जस्तो झिलिमिली मात्र बनाउन छाडौँ र बालबालिकाको सिर्जना अटाउने खुल्ला ठाउँ निर्माण गरौँ।

Tagged:

Leave a Reply

Your email address will not be published. Required fields are marked *