विभिन्न अध्ययनहरूका अनुसार आमाको मानसिक स्वास्थ्यले बालबालिकाको भावनात्मक र बौद्धिक विकासमा प्रत्यक्ष असर पार्छ। विश्व स्वास्थ्य संगठन (WHO) का अनुसार विश्वभर करिब १० महिलामध्ये १ जना गर्भावस्थामा र १३ मध्ये १ जना सुत्केरीपछिको समयमा डिप्रेशनको शिकार हुन्छिन्। नेपालमा गरिएको केही अध्ययनहरूले पनि मातृ डिप्रेशनको दर २० प्रतिशतभन्दा बढी रहेको देखाएका छन्। यस्तो अवस्थामा बालबालिकाको मस्तिष्क विकास, भाषा सिकाइ र सामाजिक सीपमा ढिलो प्रगति हुने सम्भावना धेरै हुन्छ।
नेपालमा आमाहरू र अन्य हेरचाहकर्ताहरू (caregivers) ले मातृत्वको आनन्दसँगै ठूलो जिम्मेवारी र मानसिक दबाब पनि भोगिरहेका छन्। बिहानदेखि रातिसम्म घर, काम र बालबालिकाबीच सन्तुलन मिलाउने क्रममा उनीहरू आफ्नो मानसिक स्वास्थ्यलाई बेवास्ता गर्न बाध्य हुन्छन्। अझ समाजले “आमाले सबै सहनुपर्छ” भन्ने सोच राख्दा उनीहरूमा थकान, एक्लोपन र आत्मग्लानीको भावना बढ्दै जान्छ।
अनुसन्धानहरूले देखाएका छन् कि माताको दीर्घकालीन तनाव र डिप्रेशन हुँदा बालबालिकाको emotional regulation क्षमतामा कमी आउँछ। बालबालिकाले डर, आक्रोश वा असुरक्षा बढी महसुस गर्न सक्छन्। उनीहरूको मस्तिष्क विकासका पहिलो १००० दिनमा हेरचाहकर्ताको व्यवहार र भावनात्मक स्थिरता निर्णायक हुन्छ। त्यसैले माताको मानसिक स्वास्थ्य बालबालिकाको भविष्यका लागि आधारशिला हो।
हेरचाहकर्ताको तनाव पनि त्यति नै महत्वपूर्ण विषय हो। हजुरआमा, बुबा, शिक्षक वा डेकेयर कर्मचारी जसले नियमित रूपमा बालबालिकाको हेरचाह गर्छन्, उनीहरूमा पनि निरन्तर मानसिक थकान, burn-out र compassion fatigue देखिन्छ। यस्तो अवस्थाले बालबालिकासँगको सम्बन्ध कमजोर बनाउँछ। बालबालिकाले हेरचाहकर्ताको भावनात्मक ऊर्जा र मूड प्रत्यक्ष रूपमा महसुस गर्छन्।
त्यसैले, बालविकास कार्यक्रम र विद्यालयहरूले trauma-informed दृष्टिकोण अपनाउन आवश्यक छ। यसले हेरचाहकर्ताको विगतका कठिन अनुभव बुझ्ने र सहानुभूतिपूर्ण व्यवहार गर्ने अभ्यासलाई बल दिन्छ। उदाहरणका रूपमा, शिक्षक र अभिभावकका लागि emotional literacy र stress management तालिम सञ्चालन गर्न सकिन्छ। यसले उनीहरूलाई आफ्ना भावनालाई बुझ्न, नियन्त्रित गर्न र सकारात्मक रूपमा अभिव्यक्त गर्न सहयोग गर्छ।
नीतिगत रूपमा, सरकार र स्थानीय तहले मातृत्व र हेरचाहकर्ताको मानसिक स्वास्थ्यका लागि छुट्टै नीति र कार्यक्रम ल्याउनुपर्छ। स्वास्थ्य चौकी र अस्पतालमा शारीरिक जाँचसँगै नियमित मानसिक स्वास्थ्य परीक्षण पनि गर्न सकिने व्यवस्था गर्नुपर्छ। कार्यस्थलमा आमाका लागि लचिलो समय (flexible working hours) र parental support groups गठन गर्नाले पनि ठूलो सहयोग पुग्छ।
ममताको मन स्वस्थ भए मात्र बालबालिकाको भविष्य उज्यालो हुन्छ। जब समाज, परिवार र नीतिनिर्माताहरूले हेरचाहकर्तालाई सहयोग र समझदारीका साथ सशक्त बनाउँछन्, तब हामीले भावनात्मक रूपमा दृढ, आत्मविश्वासी र संवेदनशील पुस्ता निर्माण गर्न सक्छौं।
रति शर्मा
प्रारम्भिक बालविकास कन्सलटेन्ट



